|
|
|
वैदेशिक रोजगार नियमावली, २०६४
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएकोछ। परिच्छेद -१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरुको नाम "वैदेशिक रोजगार नियमावली, २०६४" रहेकोछ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमाः- क) "ऐन" भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनुपर्छ। ख) "करार भन्नाले रोजगारदाता संस्था वा निजको प्रतिनीधि र कामदार तथार् इजाजतपत्रवाला र कामदार बीच कामदारको सेवा, शर्त तथा पारिश्रमिक दुवै पक्षले पालना गर्नु पर्ने शर्तको वारेमा भएको करार सम्झनुपर्छ। ग) "कोष" भन्नाले ऐनको दफा ३२ वमोजिम स्थापना भएको वैदेशिक रोजगार कल्याणकारी कोष सम्झनु पर्छ। घ) "न्यायाधिकरण" भन्नाले ऐनको दफा ६४ वमोजिम स्थापना भएको वैदेशिक रोजगार न्यायाधिकरण सम्झनु पर्छ। ङ) "मागपत्र" भन्नाले कामदारको संख्या, किसिम, योग्यता, कामदारले पाउने पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु उल्लेख गरी रोजगारदाता संस्थाले इजाजतपत्रवालालाई पठाएको मागपत्र सम्झनु पर्छ। च) "सञ्चालक" भन्नाले संस्था वा इजाजतपत्रवालाको सञ्चालक सम्झनु पर्छ र सो शब्दले वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ। |
|